बैतडी: सुदर्शन माध्यमिक विद्यालय मेलौली नगरपालिका–०२ लिखोडा बैतडीको ६६ औँ वार्षिकोत्सव र अभिभावक दिवस समारोह सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनसिंह भाट र वडा नं। २ का वडाध्यक्ष कृष्ण दत्त भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक र बाह्य गतिविधिहरूको समिक्षा गर्नुभयो। उहाँले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समर्पणको कदर गर्दै आगामी वर्षहरूमा अझ राम्रो प्रगति र समृद्धिका लागि सबैलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो।
यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक र अन्य सांस्कृतिक प्रस्तुतीमार्फत विद्यालयको सांस्कृतिक धरोहरलाई प्रस्तुत गरेको विद्यालयले जनाएको छ।
कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाट्ले धन्यवाद ज्ञापन गर्दै, कार्यक्रमको सफलता र विद्यालयको निरन्तर प्रगति सुनिश्चित गर्न अभिभावक र समुदायका सबै सदस्यहरूको सहयोगको आवश्यकता रहेको बताए। समारोहले विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सम्बन्धलाई प्रगाढ बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
प्रमुख अतिथि भट्टले कार्यक्रममा बोल्दै विद्यालयको प्रगति र भविष्यका योजनाबारे सम्वोधन गर्दै अभिभावक र विद्यार्थीलाई सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो।