बैतडी: नेपाली कांग्रेस बैतडीले चुनावी समीक्षा तथा भेटघाट कार्यक्रम शुरु गरेको छ। हिजोदेखि चुनावी समीक्षा तथा मतदाता भेटघाट कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीमा कांग्रेसले पराजय व्यहोरेको छ। नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएका थिए। उक्त निर्वाचनमा रास्वपा उम्मेदवार भण्डारीले २२ हजार १३४ मत ल्याएर जित निकालेका थिए। कांग्रेस उम्मेदवार चन्दले १८ हजार १९४ मत ल्याएका थिए।
बैतडीका दशओटै पालिकामा पुगेर चुनावी समीक्षा गर्ने र मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम आजदेखि शुरु भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ। हिजो पञ्चेश्वरको आमचौरा र शिवनाथको सुल्लेखानमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँदले बताए। कार्यक्रममा नेपाली कांग्रेसले पराजय हुनुको कारणका बिषयमा छलफल हुनुका साथै मतदाताहरुलाई धन्यवाद दिइएको उनले बताए।
नेपाली कांग्रेसले पार्टीभित्रकै अन्तर्घातका कारण यो चुनावमा पराजय व्यहोरेको निष्कर्ष समेत निकालेको छ। चुनावी समीक्षा कार्यक्रममा यो बिषयमा समेत छलफल भइरहेको बताइएको छ। आज बिहान ११ बजे मेलौलीको काँडा र दिउँसो ३ बजे पाटनको पाटन बजारमा चुनावी समीक्षा कार्यक्रमको आयोजना गरिएको सचिव जोशीले बताए।
यस्तै फागुन २८ गते बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँ, आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जनाइएको छ।
यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानी गरिने कांग्रेस बैतडीले जनाएको छ।