बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ। नगरपालिका स्थापना भएको ३० बर्ष पुगेको अवसरमा नगरपालिकाले स्थापना दिवस मनाएको हो।
गएको चार बर्षयता दशरथचन्द नगरपालिकाले चैत २४ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको नगरपालिकाका अधिकृत राजबहादुर बिष्टले जानकारी दिए। स्थापना दिवसको अवसर पारेर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ भने माटो परीक्षण प्रयोगशालाको समेत उद्दघाटन गरेको छ। किसानहरुले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि कृषि एम्बुलेन्सले सहज हुने अधिकृत बिष्टले बताए।
यस्तै नगरपालिकाले शव निशुल्क शव वाहनको व्यवस्था समेत गरेको छ। नगर क्षेत्रभित्र निशुल्क रुपमा शव वाहन उपलब्ध गराइने अधिकृत बिष्टले बताए।
नगरपालिका स्थापना दिवसको अवसरमा बोल्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले नगरपालिकाले नगर क्षेत्रभित्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए। यस्तै उनले आगामी दिनमा समेत नगरपालिकाले यो क्षेत्रका समस्यालाई ध्यानमा राखेर आफ्ना नीति, कार्यक्रम र बजेट बनाउने बताए।