जनउत्थान लघुवित्तको १६ औँ वार्षिकोत्सवमा देशभर सामाजिक कार्यक्रम सम्पन्न

बैतडी: जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको १६ औँ वर्ष पूरा गर्दै चैत २७ गते विविध सामाजिक गतिविधिसहित वार्षिकोत्सव मनाएको छ। संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर रहेका सम्पूर्ण शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा शाखाहरूले मठमन्दिर सरसफाइ, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, कुखुराका चल्ला वितरण, अनाथ आश्रममा खाद्यान्न सहयोग, डस्टबिन वितरण, बृहत रक्तदान कार्यक्रम तथा आफ्ना सदस्यहरूलाई विउ वितरण जस्ता कार्यक्रमहरू सञ्चालन गरेका छन्।

यसैक्रममा चितवनस्थित शक्तिखोर शाखा कार्यालयले कालिका नगरपालिका–५, कोलारमा रहेको महाकाली आधारभूत विद्यालयका करिब २० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई किताब, कापी र कलम वितरण गरेको छ। शाखा सञ्चालन अधिकृत महेश भट्टका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढाउने विश्वास गरिएको छ।

संस्थाले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएको छ। यस्ता गतिविधिहरूले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.