बैतडीमा १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बैतडीमा १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता देहिमाण्डौस्थित खेल मैदानमा भव्य रूपमा उद्घाटन गरिएको हो।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले गर्नुभएको हो। उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाई), पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावल, पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपक बम, मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्द (भूकम्प) लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यसैगरी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सिगास, पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार, सुर्नया र डिलाशैनी गाउँपालिकाका अध्यक्षहरू पनि कार्यक्रममा सहभागी भएका थिए। जिल्ला खेलकुद समिति अध्यक्ष भूपेन्द्र चन्दका अनुसार जिल्लाभरिका प्रत्येक स्थानीय तहबाट एक/एक टिम प्रतियोगितामा सहभागी छन्। पालिकास्तरमा छनोट भएर आएका उत्कृष्ट खेलाडीहरूले जिल्लास्तरीय प्रतिस्पर्धामा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन्।

प्रतियोगिता विशेष गरी स्थानीय तहका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको हो। यसले विद्यालयस्तरमै खेलकुदको विकास, खेलाडी उत्पादन र प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डी, मार्चपास लगायत विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। विजयी खेलाडी तथा टिमलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ।

स्थानीय तहहरूबीच आपसी सहकार्य, खेलकुदप्रतिको रुचि अभिवृद्धि तथा अनुशासन, नेतृत्व र टीम भावना विकास गर्न प्रतियोगिताले सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ। प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.