बैतडी– बैतडीको मेलौली नगरपालिका–७ काँडास्थित मणिलेक माध्यमिक विद्यालयमा शैक्षिक अक्षय कोष स्थापनाका लागि पूर्व विद्यार्थी डा. जगन्नाथ जोशी र उहाँकी श्रीमती लक्ष्मी जोशीले ७५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले जोशी दम्पत्तिले उक्त रकम सहयोग गर्नुभएको प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।
विद्यालयका अनुसार डा. जोशीले विद्यार्थी जीवनदेखि नै शिक्षा तथा ज्ञानको क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ। अध्ययनकै क्रममा मेलौलीमा ‘झरो पुस्तकालय’ स्थापना गरी स्थानीयस्तरमा अध्ययन तथा पठन संस्कृतिको विकासमा योगदान पु¥याउनुभएका उहाँले पुस्तकालयको विकासका लागि पुस्तक तथा नगद गरी ७५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो।
पछि उक्त ‘झरो पुस्तकालय’ मणिलेक माध्यमिक विद्यालयमै समायोजन गरिएको विद्यालयले जनाएको छ।शिक्षाप्रतिको आफ्नो पुरानो लगावलाई निरन्तरता दिँदै पुनः आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक अक्षय कोष स्थापनाका लागि सहयोग गर्नुभएकाले विद्यालयप्रतिको आत्मीयता, कृतज्ञता र सामाजिक उत्तरदायित्व झल्किएको प्रधानाध्यापक कलौनीले बताए ।
डा जोशी नेपाल सरकारका अवकाशप्राप्त प्राविधिक अधिकृत हुन। सरकारी सेवाबाट अवकाशपछि उहाँले विभिन्न वनविज्ञान तथा इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्नुका साथै सम्बन्धित क्षेत्रमा परामर्शदाताका रूपमा समेत काम गर्दै आउनुभएको बताइएको छ।