मेलौलीमा पोषण सम्बन्धी दुईदिने अभिमुखीकरण सुरु

बैतडी-बैतडीको मेलौली नगरपालिकामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रम तथा सामाजिक व्यवहार परिवर्तन र पोषणसम्बन्धी दुईदिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

मेलौली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा शुक्रबारदेखि कार्यक्रम सुरु भएको हो। कार्यक्रमको अध्यक्षता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले गर्नुभएको छ।

स्थानीय उत्पादनमा आधारित पोषण प्रवद्र्धन तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले जानकारी दिए ।

शिक्षा शाखा प्रमुख मनु क्षेत्रीले स्थानीय स्तरमा उपलब्ध उत्पादनको उपयोग गरी बालबालिकाको पोषण अवस्था सुधार गर्न तथा विद्यालय दिवा खाजालाई थप पोषणयुक्त बनाउन कार्यक्रम महत्वपूर्ण हुने बताईन् ।

उनले महिला स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरसम्म पोषणसम्बन्धी सन्देश प्रभावकारी रूपमा पुर्‍याउन अभिमुखीकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्थानीय उत्पादनको प्रयोग मार्फत पोषण सुधार, विद्यालय दिवा खाजालाई पोषणयुक्त बनाउने उपाय,सामाजिक व्यवहार परिवर्तन तथा पोषणसम्बन्धी विषयमा जानकारी तथा सहजीकरण गरिने जनाइएको छ।

कार्यक्रमको प्राविधिक सहयोग तथा सहजीकरण विश्व खाद्य कार्यक्रम (WFP) ले गरिरहेको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धनसँगै बालबालिका तथा समुदायको पोषण अवस्था सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाबारे छलफल तथा अन्तरक्रिया हुने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.