नगर स्वयंसेवक शिक्षक र पाटन नगरपालिकाबीच सहमति

बैतडी –बैतडीको पाटन नगरपालिकाभित्र कार्यरत नगर स्वयंसेवक शिक्षकका माग सम्बोधन गर्ने विषयमा नगरपालिका र शिक्षक संघर्ष समितिबीच सहमति भएको छ ।

सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको नगर स्वयंसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष राजेन्द्र बिष्टले जानकारी दिए ।

पाटन नगरपालिकाको सामाजिक विकास समिति संयोजक हरिसिंह बिष्ट र नगर स्वयंसेवक शिक्षक संघर्ष समिति संयोजक राजेन्द्रसिंह बिष्टबीच भएको सहमतिअनुसार आर्थिक वर्ष २०८३÷८४ का लागि नगर स्वयंसेवक शिक्षकलाई मंसिर महिनादेखि उचित पारिश्रमिक उपलब्ध गराउन नगर कार्यपालिकासमक्ष सिफारिस गर्ने सहमति भएको छ ।

यस्तै विद्यालय समायोजन तथा दरबन्दी मिलान गर्दा नगर स्वयंसेवक शिक्षकको उचित व्यवस्थापनका लागि पहल गर्ने सहमति भएको छ । स्वयंसेवक शिक्षकहरूको पेशागत हकहितलगायत समस्या समाधानका लागि नगर कार्यपालिकामा सिफारिस गर्ने कुरा सहमतिपत्रमा उल्लेख छ ।

सहमति कार्यान्वयनका लागि २०८३ असोज १२ गतेभित्र नगर कार्यपालिकाको बैठक बोलाउन नगर प्रमुखलाई अनुरोध गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

सहमति पत्रमा नगरपालिकाकातर्फबाट सामाजिक विकास समिति संयोजक हरिसिंह बिष्ट, प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल, वडा नम्बर ४ का अध्यक्ष दिपकसिंह बिष्ट बिष्ट, वडा नम्बर ९ का अध्यक्ष कालुसिंह भाट र नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले हस्ताक्षर गरेका छन् ।

यस्तै नगर स्वयंसेवक शिक्षक संघर्ष समितिकातर्फकाबाट अध्यक्ष राजेन्द्र बिष्ट, सचिव धिरेन्द्रबहादुर चन्द, सदस्य गोविन्दप्रसाद पन्त, सदस्य अनिता बिष्ट र सदस्य भरतबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.