बैतडी-बैतडीको पुर्चौडीकी १५ वर्षीया नम्रता बोहरा राष्ट्रिय भलिबल प्रतियोगिताका लागि छनोट भएकी छन्। १०औँ वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशको भलिबल टोलीमा छनोट भएकी उनी बैतडी जिल्लाबाट छनोट हुने एकमात्र खेलाडी हुन्।
मालिका माध्यमिक विद्यालय भटना कक्षा १० मा अध्ययनरत नम्रताको खेल यात्रा गत वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट सुरु भएको हो। पालिका, जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएकी उनले करिब एक वर्षकै अवधिमा राष्ट्रिय प्रतियोगितासम्मको यात्रा तय गरेकी हुन्।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दका अनुसार बैतडीबाट एथलेटिक्समा पाँच, बास्केटबलमा दुई र भलिबलमा एक जनासहित दुई दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। मार्शल आर्टतर्फको छनोट भने बाँकी रहेको छ।
पुर्चौडी नगरपालिका शिक्षा शाखा प्रमुख मोहन नाथले १५ वर्षकै उमेरमा जिल्लाबाट एक मात्र भलिबल खेलाडीका रूपमा नम्रता छनोट हुनु समग्र जिल्लाको खेलकुद क्षेत्रका लागि गौरवको विषय भएको बताए। नम्रतासँगै पुर्चौडीकै अस्मिता धानुक छात्रातर्फ १५ सय मिटर दौड विधामा राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी छन्।
नम्रताको सफलतामा प्रशिक्षक गणेश धामीको अथक प्रयास, नियमित प्रशिक्षण र अभ्यासको महत्वपूर्ण योगदान रहेको उनका मामा अनिलबहादुर बोहराले बताए। पुर्चौडी क्षेत्रबाट पहिलोपटक राष्ट्रिय भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट हुनु गौरवको विषय भएको उनको भनाइ छ।
ग्रामीण क्षेत्रमा लुकेका खेल प्रतिभालाई उचित प्रशिक्षण र अवसर दिन सके राष्ट्रिय स्तरसम्म पुर्याउन सकिने नम्रताको सफलताले देखाएको छ। विशेषगरी छात्राहरूको खेल सहभागिता विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीबाट प्रभावित हुने अवस्थामा नम्रता र अस्मिताको सफलता अन्य किशोरीका लागि समेत प्रेरणाको स्रोत बनेको बैतडी महिला भलिबल टिमका प्रशिक्षक तथा जिल्ला भलिबल संघ बैतडीका उपाध्यक्ष अशोक बहादुर चन्दले बताए ।