बैतडी-बैतडीको पाटन नगरपालिकामा क्षयरोगका बिरामी पहिचान तथा उपचारको दायरामा ल्याउने उद्देश्यले खोजपड्ताल तथा उपचार शिविर सञ्चालन गरिएको छ ।
समुदायमा लुकेर रहेका क्षयरोगका बिरामी पहिचान गरी समयमै उपचारमा ल्याउने लक्ष्यसहित सञ्चालन गरिएको शिविर पाटन नगरपालिका–१ सकारस्थित वडा कार्यालयको भवनबाट सुरु भएको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार शिविरमा एआई प्रविधिसहितको एक्सरे मेसिन प्रयोग गरी चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गरिनेछ । एक्सरेबाट क्षयरोगका सम्भावित बिरामी पहिचान गरी आवश्यक परीक्षण तथा उपचारको व्यवस्था गरिने उनले बताए।
नगरपालिकाले मंसिर १० गते वडा नम्बर १ सकार, मंसिर ११ गते वडा नम्बर ७ स्थित कैलपाल स्वास्थ्यचौकी र मंसिर १२ गते वडा नम्बर ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
क्षयरोगका सम्भावित लक्षण देखिएका व्यक्ति, क्षयरोगका बिरामीको सम्पर्कमा रहेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, एचआईभी संक्रमित, कुपोषित तथा मधुमेह भएका व्यक्तिलाई शिविरमा आएर स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख महराका अनुसार पाटन नगरपालिकामा हाल ३५ जना क्षयरोगका बिरामी उपचाररत छन् । गत आर्थिक वर्षमा पहिचान भएका २४ जना र चालु आर्थिक वर्षको चार महिनामा थपिएका ११ जना गरी ३५ जना बिरामी उपचारको क्रममा रहेका उनले बताए ।
लगातार दुई हप्ताभन्दा बढी खोकी लाग्ने, खानामा अरुचि हुने, शरीर दुब्लाउँदै जाने तथा कमजोरी महसुस हुने क्षयरोगका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।