बैतडी– बैतडीको पाटन नगरपालिका–८ स्थित खोड्पेमा मंसिर १२ गते निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र आँखा अस्पताल डडेल्धुराको आयोजनामा सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पेमा शिविर सञ्चालन हुन लागेको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिष बिष्टले शिविरबाट लाभ लिन स्थानीय नागरिकलाई आग्रह गरेका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै ठाउँमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन शिविरले सहयोग पुग्ने उनले बताए ।
शिविरमा परीक्षणका क्रममा छनोट भएका मोतिबिन्दुका बिरामीको मंसिर १९ गते आँखा अस्पताल डडेल्धुरामा शल्यक्रिया गरिने जनाइएको छ। हातबाट गरिने शल्यक्रिया निःशुल्क गरिनेछ भने मेसिनबाट गरिने शल्यक्रियामा विशेष छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।