राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिए। आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने ती नेताले बताए।
बैठक भर्चुअल माध्यमबाट बस्ने छ।
‘आज दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको छ,’ ती नेताले भने, ‘हामी भर्चुअल माध्यमबाट बैठकमा जुट्छौं।’ ती नेतका अनुसार कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ।
‘पहिल्यै केन्द्रीय समितिबाटै निर्णय भइसकेको हो। आज त्यसलाई औपचारिकता दिनुपर्छ कि भनेर छलफल गर्दैछौं।’ यद्यपि पार्टीले निर्णय नलिइ त्यसबारे केही भन्न नसकिने ती नेता बताउँछन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बनमा पर्ने भएको छ।