त्रिपुरासुन्दरी मन्दिर परिसरमा सुरक्षाकर्मीद्वारा सरसफाइ

बैतडी–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा सुरक्षाकर्मीहरुले सरसफाइ गरेका छन् ।

यही मंसिर १ र २ गते मन्दिरमा लाग्ने जात्रालाई मध्यनजर गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले मन्दिर परिसरमा सरसफाइ गरेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले जानकारी दिए ।

आइतबार बिहान मन्दिर आसपासका क्षेत्रमा सुरक्षाकर्मीहरुले सरसफाइ गरेका हुन् ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य जात्रा लाग्ने गर्दछ । उक्त जात्राको अवसरमा जाग्राम बस्ने भक्तजनहरु आजदेखि नै मन्दिरमा जाग्राम बसेका थापाले बताए । तीन दिनसम्म पानी समेत नखाइ मन्दिरमा जाग्राम बस्ने चलन रही आएको उनले बताए ।

त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरु मन्दिरमा पुग्ने थापाले बताए । यो जात्रामा सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

यो बर्षको जात्रामा पूजा सामग्री ल्याउने भक्तजनहरुलाई चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको छ । मन्दिर क्षेत्रलाई सरसफाइमा राख्न सहज हुने, मन्दिरबाट प्रसाद वितरण गर्दा दुनामै दिन सहज हुने भएकाले चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको थापाले बताए ।

त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयहरुले रणशैनी भगवतीको रुपमा पूजाआजा गर्दै आएका छन् । जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.