चिसो र शीतलहरबाट जोगिन विपद प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बेलुकादेखि मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने मौसमविदको अनुमान छ।

जल तथा मौसम विज्ञान विभागले हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने र देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुने जनाएको छ। विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा गण्डकी प्रदेश र कोशी प्रदेशका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ। साथै भोलि पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

Leave A Reply

Your email address will not be published.