बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिने

बैतडी कारागारको बन्दीगृहमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई स्थानान्तरण गरिने भएको छ। कारागार कार्यालयको नयाँ भवन निर्माण हुने भएकाले कैदीबन्दी तथा थुनुवाहरुलाई स्थानान्तरण गर्न लागिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजपुर, डोटीले भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कार्तिक अन्तिम अथवा मंसिर पहिलो साता कैदीबन्दी र थुनुवाहरुलाई स्थानान्तरण गरिने उनले बताइन्। थुनुवाहरुलाई डडेल्धुरा कारागारमा स्थानान्तरण गरिनेछ भने कैदीबन्दीहरुलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गर्ने तयारी रहेको भण्डारीले बताइन्।

कारागार कार्यालय बैतडीको नयाँ भवन निर्माणका लागि केकेजे कालिका एस बी जेभी सुकेधारासँग सम्झौता भइसकेको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले जनाएको छ। उक्त भवन निर्माणका लागि १० करोड बजेट विनियोजन भएको बताइएको छ।

बैतडी कारागार जीर्ण हुँदा कैदीबन्दी तथा थुनुवाहरुलाई राख्न असहज भइरहेका बेला नयाँ भवन निर्माण हुने भएपछि अब सहज हुने बताइएको छ। २०४० सालमा निर्माण गरिएको जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा राख्नुपर्ने बाध्यता रही आएको छ। १५ जना पुरुष र १० जना महिला गरी २५ जना राख्न सकिने क्षमता रहेको बन्दीगृहमा अहिले ६१ जना रहेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!