आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदैछन्। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु ल्होसारलाई गुरुङ समुदायले भव्य रूपमा मनाउँदै आएका छन्। तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। विशेषगरी गुरुङ समुदाय रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो। यसपछि तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

यस अवसरमा काठमाण्डौको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन्।

कार्यक्रममा गुरुङ समुदायको परिकार प्रदर्शनी गरिनेछ। यस अवसरमा अस्ति आइतवारदेखि काठमाण्डौको टुँडिखेलमा ल्होसार महोत्त्सव शुरु भएको छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.