बैतडी -बैतडीमा लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण तथा समाधानका उपाय पहिचान गर्ने उद्देश्यले लागूऔषध विरुद्ध बृहत् संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बैतडी र दशरथचन्द नगरपालिकाको सहकार्यमा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष रञ्जित प्रकाश वडको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मीना अर्याल, दशरथचन्द नगरपालिकाका नगरप्रमुख, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक कुमार राय लगायत विभिन्न पालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागिता रहेको अध्यक्ष वडले जानकारी दिए ।
कार्यक्रममा लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, यसले समाजमा पारिरहेको प्रभाव, चुनौती तथा नियन्त्रणका उपायबारे छलफल भएको बताईएको छ र । साथै दशरथचन्द नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी मीना अर्याल र प्रहरी नायब उपरीक्षक दीपक कुमार रायबीच विशेष अन्तरक्रिया गरिएको थियो।
छलफलका क्रममा जिल्लामा बढ्दो लागूऔषध दुर्व्यसनप्रति सहभागीहरूले गम्भीर चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि परिवार तथा अभिभावकको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए।
लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि घरपरिवारदेखि स्थानीय तह, सुरक्षा निकाय, शैक्षिक संस्था र नागरिक समाजसम्मको साझा जिम्मेवारी तथा प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा समस्याको चर्चा र चिन्तामा मात्र सीमित नभई यसको व्यावहारिक समाधान खोज्ने उद्देश्यले समाधानमुखी संवाद तथा अन्तरक्रिया गरिएको थियो।
सामूहिक प्रतिबद्धता, सहकार्य र निरन्तर प्रयासबाट मात्रै लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण गर्न सकिने निष्कर्ष सहित कार्यक्रम सम्पन्न भएको हो।