गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ। ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रदाञ्जली व्यक्त गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको जनाएका छन्।

पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्रो संस्करणको इन्डियन आइडलको उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गरेका थिए। नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलेका थिए।

कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका तामाङले पछि राजीनामा दिएका थिए। उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेका छन्।

तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका थिए।

Leave A Reply

Your email address will not be published.