प्रतिनिधिसभा अन्तर्गत आउँदो फागुन २१ मा हुने चुनावका लागि आज १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ। सबै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता हुन लागेको हो।
प्रमुख राजनीतिक दलहरूले धेरैजसो निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन्। केही विवादित क्षेत्रका उम्मेदवार आज बिहानसम्म टुङ्ग्याउने कांग्रेसलगायतका दलको तयारी छ । शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। टिकट पाएका अरू धेरैजसो उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।
एमालेका अध्यक्ष केपी ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व र नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगिसक्नुभएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक नउठ्ने हुनुभएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाह मनोनयन दर्ता गर्न झापा पुग्नुभएको छ भने सभापति रवि लामिछाने चितवन पुग्नेक्रममा हुनुहुन्छ। निर्वाचन कार्यालयले दल र उम्मेदवारलाई मनोनयन दर्ताको समयसमेत तोकिसकेका छन्। मनोनयनकाक्रममा तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह गरेको छ।
आचारसंहिता लागू भइसकेको र यसको पालना गर्न आयोगले सूचित गरेको छ। मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ। लगत्तै बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। भोलि दिउँसो ३ बजेदेखि पर्सि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको छ।
शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । शुक्रवार नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ। आउँदो फागुन २१ गतेका दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।