आज उम्मेदवारविरुद्ध जुरी दिन सकिने

प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ। ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन्।

कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उजुरीपछि भोलि बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। नाम फिर्ता लिन र दाबी विरोधपछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

हिजो देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने उहाँको विश्वास छ।

Leave A Reply

Your email address will not be published.