आज विश्व कुष्ठरोग दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ।

नेपालमा हरेक वर्ष झन्डै तीन हजार जना कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेका छन्। नेपालले सन् २०१० मा नै कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर अहिले पनि रोगी फेला पर्ने गरेका छन्। २०८१/८२ सालमा मात्रै नयाँ कुष्ठरोगीको सङ्ख्या दुई हजार ४ सय ९ रहेको छ।

कुष्ठरोग हुँदा शरीरको कुनै भागमा छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दाग देखा पर्ने लक्षण देखा पर्छन्। सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। कुष्ठरोग सरुवा रोग भएका कारण परिवारमा वा समुदायमा कसैलाई देखिएमा अरूलाई पनि सर्न सक्छ। तर, यो रोग सर्न लामो समय लाग्छ।

कुष्ठरोगको समयमै पहिचान भई उपचार हुन नसकेमा बिरामीमा अपाङ्गताको अवस्था हुन्छ। कुष्ठरोगीले अवस्था हेरेर छ महिना, एक वर्ष र दुई वर्षसम्म नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपानेले कुष्ठरोगलाई निर्मूल गर्न सङ्क्रमितको पहिचान गरी बेलैमा उपचार गर्ने र जनचेतना फैलाउनुपर्ने बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.