बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो।
भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो। भाइरल ज्वरोबाट प्रभावित भएकामध्ये १० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएकोमा मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए। यो रोग सामान्य भए तापनि विशेष गरी बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए।
पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा ६५ वर्षमाथिका दम, मुटु मधुमेह दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने उनले बताए। महरागाउँका एकैघरका दुई दाजुभाइको मृत्यु हुनुका साथै गाउँमा मौसमी ज्वरो ‘इन्फ्लुएञ्जा बी’ प्रकोप देखिएको थियो। त्यस लगत्तै उक्त क्षेत्रमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको थियो।
गाउँमा अझै पनि ज्वरोको प्रकोप रहेकाले साबुन पानीले हात धुने, भीडबाट टाढा बस्ने खोक्दा÷हाछ्युँ मुख छोप्नेलगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकहरुर्मीले आग्रह गरेका छन्। मौसमी ज्वरोकै कारण एकै घरका दुई बालकको ज्यान गएपछि महरागाउँ शोकमा डुबेको पुर्चौंडी नगरपालिका वडा नं १० का वडा सदस्य विष्णुदत्त अवस्थीले बताए।
महरागाउँ र आसपासमा गाउँमा समेत गरी एक सय घरपरिवारका २ सय बढी नागरिक ज्वरोबाट प्रभावित रहेका बताइएको छ। यो समयमा व्यक्तिगत तथा वातावरणीय सरसफाइमा बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।