बैतडी-मेलौली नगरपालिका–५ खलिगाडमा धुनि मेला सम्पन्न भएको छ। बैशाख पुर्णिमा का दिन सम्पन्न भएको नारसिहं देबताका धामी दशरथ जोशीले बताउनुभयो ।धार्मिक रुपमा निकै महत्व रहेको बैतडीको धुनी मेलामा धामी झाक्रीहरुले आगोको भुंगोमा तताएको तातो पन्यु चाट्ने गर्छन् ।
हजारौँको संख्यामा मानिसहरुको भीड लाग्ने उक्त मेलामा धामी झांक्रीहरुले आगोको ठूलो धुनी बनाएर उक्त धुनीको परिक्रमा गर्ने गर्छन् ।गर्मीमा पनि आगोको उक्त धुनी परिक्रमा गर्ने धामीहरुले सोही धुनीमा तताएको तातो पन्यु चाट्ने गर्छन, जुन उक्त मेलाको खास पहिचान पनि हो ।त्यतिमात्र होइन, मौलिक परम्परा अनुसार बजाइने रैथाने बाजाको तालमा नाच्ने धामीहरुको नृत्य हेर्नकै लागि पनि टाढाटाढाबाट नागरिकहरु बैतडीको धुनी मेला पुग्ने गर्छन् ।
स्थानीय बलभद्र दयालका अनुसार वर्षौं पहिले उक्त ठाउँमा हैजाको प्रकोप माहामारीका रुपमा फैलिएको थियो।माहामारीकै कारण सयौँ मानिसहरुले अकालमै ज्यान गुमाउनुपरेको थियो।त्यहीबेला भारतको नैनितालबाट पोखरेल थरका व्यक्ति मेलौलीको खालीगाडमा आएका थिए। त्यहाँ उनले देवीको स्थापना गरी ध्वनी जागृत गरेर पूजा आराधाना गरेका थिए ।
उनको उक्त भक्तिबाट प्रसन्न भई माई, नरसिंह लगायतका देवी देवताका विर वेतालहरु त्यो ठाउँका महिला र पुरुषमा प्रकट भई वाणी दिएर माहामारीको अन्त्य गरेको किंवदन्ती रहेको छ ।त्यसबेला देखि भुतप्रेत तथा माहामारीबाट छुटकरा पाउने विश्वासका साथ हरेक वर्ष बुद्ध पूर्णिमाको दिन धुनीको स्थापना गरी पूजाअर्चन गर्ने गरिन्छ ।यस्तै मेलौली -५ सेरा र वडा.न-१ बसाडी र सिराडमा पनि धुनी मेला लाग्दछ ।
त्यस्तै, धनुी मेलामा जाँदा मनले चिताएको सबै पूरा हुनुका साथै मेलामा बालिएको आगोबाट निस्किएको बभुतहःको टिका लगाउँदा दुःख, कष्ट, पीर नाश हुनुका साथै मानसिक तथा शारिरिक रोगबाट पनि मुक्त हुने विश्वास रहेको छ । निकै महत्वका साथ मनाइने उक्त धुनी मेला हेर्नका लागि बैतडी लगायत सुदूरपश्चिमका अन्य जिल्ला तथा छिमेकी मुलुक भारतको पिथौरागढ, नैनिताल, कुमाउँबाट पनि भक्तजनहरु आउने गर्दछन् ।