बैतडी –बैतडी जिल्ला खेलकुद समितिका नवनियुक्त अध्यक्ष भुपेन्द्र चन्दले पदभार ग्रहण गरेका छन् । आज एक कार्यक्रमकाबीच अध्यक्ष चन्दले पदभार ग्रहण गरेको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो ।
केही दिन पहिला प्रदेश खेलकुद परिषदबाट बैतडीको अध्यक्षमा नियुक्त भएका चन्दले आज पदभार ग्रहण गरेका हुन् ।अध्यक्ष चन्दले पदभार ग्रहण गरेपछि आजै बसेको बैठकले खेलाडीहरुको उपचारका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै खेलकुदका माध्यमबाट जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मान गर्ने निर्णय पनि भएको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।
बैतडी जिल्ला खेलकुद समितिको कार्यालय व्यवस्थापनका लागि आवश्यक भौतिक सामग्री खरीदका लागि सुदूरपश्चिम खेलकुद परिषदलाई बजेट उपलब्ध गराउन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।