बैतडी-बैतडीको मेलौली नगरपालिका–३ स्थित शान्ती प्रकाश आधारभूत विद्यालय, ढणौनमा ‘जनतासँग वडा अध्यक्ष कार्यक्रम विशेष संवाद कार्यक्रम’ सम्पन्न भएको छ।मेलौली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गगन सिंह भाटको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय विकास, पर्यटन प्रवर्द्धन, शिक्षा, जनसहभागिता तथा वडाको समग्र विकासका विषयमा खुला छलफल गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष भाटले वडा विकासका योजनालाई प्रभावकारी बनाउन स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले वडा कार्यालय जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै नागरिकका सुझाव र आवश्यकतालाई आगामी योजना तथा बजेट निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे।
विशेष संवादका क्रममा वडा नं-३ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य ग्वाल्लेक धामको प्रचार–प्रसारलाई प्राथमिकताका साथ अघि बढाइने विषयमा विशेष छलफल भएको थियो। ग्वाल्लेक धामलाई धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित स्थानीय तह, विद्यालय र समुदायको सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै शान्ती प्रकाश आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले विद्यालय शिक्षा र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउन यस्ता संवादमूलक कार्यक्रम प्रभावकारी हुने बताए। उनले विद्यालयसँगै स्थानीय पर्यटन, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीलाई सचेत बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने धारणा व्यक्त गरे।
कार्यक्रममा वडा सदस्यहरू, स्थानीय बुद्धिजीवी, अभिभावक, महिला समूह, युवा, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सडक, शिक्षा, खानेपानी, कृषि, पर्यटन पूर्वाधार, स्वास्थ्य सेवा तथा सार्वजनिक सेवाको गुणस्तर सुधारका विषयमा आफ्ना जिज्ञासा, सुझाव र मागहरू राखेका थिए।
वडा अध्यक्ष भाटले उठाइएका सबै सुझावलाई वडाको प्राथमिकतामा राखेर कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता जनाउँदै जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागी सबैले ग्वाल्लेक धामको प्रचार–प्रसार, स्थानीय कला–संस्कृतिको संरक्षण तथा पर्यटन विकासमा सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ नजिक बनाउनुका साथै वडा नं ३ को पर्यटन, शिक्षा र समग्र विकासका लागि नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।