बैतडी-बैतडीको पाटन नगरपालिका–३, दम्मोराका मदनराज पन्तका २ वर्षीय छोरा अभिषेक पन्त मिर्गौलाको क्यान्सरबाट पीडित भएपछि उनको उपचारमा आर्थिक अभाव भएको छ।
हाल काठमाडौंस्थित कान्ति बाल अस्पताल, महाराजगञ्जमा उपचाररत बालक अभिषेकको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको हो।
कान्ति बाल अस्पतालले यही असार २ गते जारी गरेको सिफारिसपत्रमा स्वास्थ्य परीक्षणका क्रममा अभिषेकको मिर्गौलामा क्यान्सर पुष्टि भएको उल्लेख गर्दै उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन सम्बन्धित निकायसँग अनुरोध गरिएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार अभिषेकको दीर्घकालीन उपचार आवश्यक पर्ने भएकाले उपचार खर्च निरन्तर बढ्दै गएको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचारको सम्पूर्ण खर्च व्यवस्थापन गर्न परिवारलाई कठिनाइ भइरहेको छ।
यसैबीच, पाटन नगरपालिकाले पनि बालक अभिषेकको जीवनरक्षाका लागि आवश्यक सहयोग जुटाइदिन तथा उपचारमा सहुलियत उपलब्ध गराउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाएको छ।
बालकका बुवा मदनराज पन्तले सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, विभिन्न सामाजिक संघसंस्था, परोपकारी व्यक्ति तथा देश–विदेशमा रहेका नेपाली समुदायसँग उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गर्नुभएको छ।
सहयोग गर्न चाहने इच्छुक महानुभावहरूले मदनराज पन्तको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ०३१०७०१०१५३८१२मा रकम जम्मा गर्न सक्नुहुनेछ। साथै, ई–सेवा Or code लगायतका डिजिटल माध्यमबाट समेत सहयोग गर्न सकिने परिवारले जनाएको छ।
परिवारका अनुसार समयमै आवश्यक उपचार र आर्थिक सहयोग जुट्न सके अभिषेकको स्वास्थ्यमा सुधार आउने विश्वास गरिएको छ। त्यसैले सहयोगी मनहरूलाई मानवीय संवेदनाका आधारमा सहयोग गरिदिन परिवारले पुनः आग्रह गरेको छ।