बैतडी– बैतडीको शिवनाथ गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशनअन्तर्गत तेस्रो बैठक गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदको अध्यक्षतामा सम्पन्न भएको छ।बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको रु. ४४ करोड ४९ लाख ८३ हजार २२५ बराबरको बजेट सहित आर्थिक विधेयक तथा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँसभामा अध्यक्ष कर्ण सिंह साउदले आगामी आर्थिक वर्षको बजेट गाउँपालिकाको समग्र विकास, सुशासनको सुदृढीकरण तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यका साथ तयार गरिएको बताए।
उनले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सडक, सिँचाइ, पर्यटन, युवा तथा स्वरोजगार प्रवद्र्धन, महिला सशक्तीकरण र सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिए।
उपाध्यक्ष शकुन्तला साउदले पारित बजेटले गाउँपालिकाको विकासलाई थप गति दिने विश्वास व्यक्त गर्दै योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। उनले बजेटलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी ढंगले कार्यान्वयन गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरिन्।
प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले आर्थिक विधेयक तथा विनियोजन विधेयक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार तयार गरिएको जानकारी दिए।
उनले बजेट कार्यान्वयनका क्रममा वित्तीय अनुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहितालाई उच्च प्राथमिकता दिइने तथा प्रत्येक योजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र अनुगमन गरिने बताए।
बैठकमा गाउँसभा सदस्यहरूले बजेट तथा विधेयकमाथि आफ्नो धारणा राख्दै स्थानीय आवश्यकताअनुसार विकास कार्यक्रम सञ्चालन गर्न, योजनाको गुणस्तर कायम राख्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए। छलफलका क्रममा उठेका सुझावलाई समेट्दै आवश्यक परिमार्जनपछि आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरिएको थियो।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, खानेपानी विस्तार, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ। साथै युवा सीप विकास, उद्यमशीलता प्रवद्र्धन, स्वरोजगार सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ।
बैठकमा उपाध्यक्ष शकुन्तला साउद, प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, विभिन्न शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले पारित बजेट र विधेयकले शिवनाथ गाउँपालिकाको समग्र विकास, सुशासनको प्रवद्र्धन तथा नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरेका छन्।