‘वन आवर सर्भिस’ शुरु गर्दै बैतडी प्रशासन, साउन १ देखि लागू हुने

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायतका सेवा एक घण्टाभित्रै उपलब्ध गराइने

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाप्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ ‘वन आवर सर्भिस’ (One Hour Service) सञ्चालनमा ल्याउने भएको छ। उक्त सेवा साउन १ गतेदेखि औपचारिक रूपमा लागू हुने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार सेवाग्राही कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै आवश्यक प्रशासनिक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो। यस अभियानमार्फत नागरिकले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रशासनका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरू निर्धारित प्रक्रिया पूरा गरेपछि एक घण्टाभित्रै उपलब्ध गराइनेछ। यसले सेवाप्रवाहलाई थप छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यस सेवाको औपचारिक घोषणा साउन १ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय बैतडीको परिसरमा गरिनेछ। कार्यक्रममा सरोकारवाला निकाय, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई उपस्थित हुन प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले ‘वन आवर सर्भिस’ कार्यान्वयनसँगै नागरिकले छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.