बैतडी-बैतडीको मेलौली नगरपालिका–७ काँडास्थित श्री मणिलेक माध्यमिक विद्यालयको ७९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द, मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा, वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट,राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाश दत्त भट्ट तथा जलाधार संरक्षण विज्ञ डा. जगन्नाथ जोशी लगायत विशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा विद्यालयको शैक्षिक अवस्था, वार्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।विद्यालयको समग्र विकास र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न आगामी दिनमा थप योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, संघसंस्थाका प्रतिनिधि, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य, संस्थापक एवं संरक्षक, पत्रकार, इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा अतिथिहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।
वार्षिकोत्सवका अवसरमा कपडा बैंक शाहीलेकका सञ्चालक महेशदत्त भट्टले विद्यालयका २० जना गरिब तथा असहाय विद्यार्थीलाई झोला वितरण गर्नुभएको छ। विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग पुर्याउने उद्देश्यले झोला वितरण गरिएको उनले बताए । ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ गर्दै विद्यालयको शैक्षिक विकासका लागि सहकार्य गर्ने वातावरण निर्माणमा सहयोग पुगेको विद्यालयले जनाएको छ।