बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिका–६, थाचौरकी मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।
भरतराज पन्त र कमला पन्तकी छोरी अस्मिता ‘क’ वर्गको मानसिक अपाङ्गता भएकी छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले अस्मिताको घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो।
जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताईन ।
कार्यक्रम अन्तर्गत नागरिकता लगायतका आवश्यक सरकारी सेवा घरमै उपलब्ध गराउने प्रयास भइरहेको उहाँले बताईन् । घरमै नागरिकता पाएपछि अस्मिता र उनको परिवारलाई आवश्यक सरकारी सेवा तथा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।