काठमाण्डौ – भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजीको प्रयास भैरहेको छ । बाढीले १२ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि ९ सयभन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकेको छैन ।
सुरुङ, भूमिगत विद्युत् गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी काम भैरहेको नेपाली सेनाले जनाएको छ । खोजीको क्रममा हिजो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो ।
नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘ए’ मा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिकसहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ । दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ । त्रिशुली ३ ‘ए’ मा अझै ३९ जना सम्पर्कविहीन छन् ।
त्रिशूली–३ ‘बी’ आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ । ती संरचनासम्म पुग्ने बाटो बाढीले क्षति गरेकाले एस्काभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पन्छाउने काम भइरहेको छ । त्रिशूली–३ ‘बी’ मा १९१ जना सम्पर्कविहीन छन् । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्रबाट यसअघि नै दुई शव फेला परिसकेका छन् ।
नेपाली सेनाका अनुसार २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई ठाउँमा साना होल बनाएर खोजी गरिरहेको छ । माथिल्लो त्रिशूली–१ आयोजनामा पनि खोजीको काम भैरहेको सेनाले जनाएको छ ।
यस आयोजनामा कार्यरत ५५७ जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन् । चिलिमे जलविद्युत् आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन् । यहाँ ६ जना सम्पर्कविहीन छन् । उनीहरू भूमिगत विद्युत् गृहमा फसेको अनुमान गरिएको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन रहेकोमा उनीहरुको पनि खोजीको प्रयास भैरहेको छ । लाङटाङ र चिलिमेमा सुरुङभित्र क्यामरा तथा प्राविधिक उपकरणमार्फत खोजी र तथा माथिल्लो त्रिशूली–१ मा वैकल्पिक सुरुङमार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भैरहेको जलविद्युत आयोजनाहरुले जनाएका छन् ।