बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग

बैतडी– जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्न माग गर्दै अस्पताल व्यवस्थापन समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट समक्ष ज्ञापनपत्र बुझाएको छ ।

अस्पताल व्यवस्थापन समितिका तर्फबाट सोमबार मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइएको समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)ले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल बैतडीमा ५० शय्या सञ्चालन गर्न आवश्यक भौतिक संरचना रहेकाले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारसँग माग गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले अस्पताललाई स्तरोन्नति गर्ने विषयमा आफू सकारात्मक रहेको बताउनुभएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

हाल जिल्ला अस्पताल बैतडी १५ शय्यामा सञ्चालन हुँदै आएको छ । अस्पताललाई स्तरोन्नति गर्न माग गर्दै व्यवस्थापन समितिले यसअघि पनि दुई पटक ज्ञापनपत्र बुझाइसकेको र सोमबार तेस्रो पटक ज्ञापनपत्र बुझाइएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

यसअघि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा जिल्ला अस्पताल बैतडीलाई २५ शय्यामा स्तरोन्नति गर्ने उल्लेख गरिएको थियो । तर जिल्लाको भौगोलिक विकटता, बिरामीको चापलगायतका कारण अस्पताललाई २५ नभई ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने व्यवस्थापन समितिको माग रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.