बैतडी– बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३५ बर्षीया गौरा मडैको भीरबाट लडेर मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर मडैले बताए ।
घाँस काट्ने क्रममा आइतबार दिउँसो घर नजिकैको गोगनाडी खोला भन्ने भीरबाट लडेर मडै गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । हरिचनबाट रीगा पुर्याउँदा उनको मृत्यु भएको मडैले बताए ।
रौलेश्वर स्वास्थ्यचौकी अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी मडैको निधनले हरिचन गाउँ शोकमा डुबेको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन तल्लीन रहेकी महिला स्वास्थ्य स्वयंसेविका मडैको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेश मडैले बताए । गत पाँच बर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएकी गौरा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकाको रुपमा रहेकी थिइन् ।
मृतक गौराका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन् । गौराको मृत्यु भएको खबरपछि उनी घर फर्कन लागेका मडैले बताए ।
मृतक गौराका दुई छोरा रहेका छन् । भीरबाट लडेर अल्पायुमै गौराको निधन भएपछि मडै परिवारमा ब्रजपात परेको छ ।