बैतडीमा ‘अशक्तसँग प्रजिअ’ कार्यक्रम:दुई महिनामा ११ जनाले पाए घरदैलोमै नागरिकता

बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गर्दै आएको ‘अशक्तसँग प्रजिअ’ अभियानमार्फत थप पाँच जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई नागरिकता प्रदान गरिएको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी सम्बन्धित स्थानमा पुगेर वडा कार्यालयहरूसँगको समन्वयमा नागरिकता वितरण गर्नुभएको हो।

अभियानअन्तर्गत सिगास गाउँपालिका–१ को वृन्दावन, सुर्नया गाउँपालिका–८ को ढल्यामोड र सुर्नया गाउँपालिका–२ को गाजरीमा पुगेर पाँच जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नागरिकता प्राप्त गर्ने व्यक्तिहरू १९ वर्षदेखि ७३ वर्ष उमेर समूहका रहेका छन्। शारीरिक अशक्तता तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असमर्थ नागरिकलाई उनीहरूकै घर वा पायक पर्ने स्थानमै पुगेर नागरिकता उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्याल बताईन् ।

यस अभियानमार्फत पछिल्लो करिब दुई महिनाको अवधिमा बैतडीका विभिन्न स्थानका ११ जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिले घरमै वा पायक पर्ने स्थानमा नागरिकता प्राप्त गरिसकेको प्रमुख जिल्ला अधिकारी अर्याल बताईन् ।

राज्यबाट प्राप्त हुने आधारभूत सेवा नागरिकको सहज पहुँचमा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई प्रशासनिक सेवा लिन सहज बनाएको छ।

Leave A Reply

Your email address will not be published.