बैतडी-जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
यही मंसिर ३ गते बिहीबार अस्पतालमा सञ्चालन हुने शिविरमा गेटा मेडिकल कलेजका विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्ने जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डा। अरविन्द जोशीले जानकारी दिए ।
मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका बिरामीलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको उहाँले बताए ।
जिल्ला अस्पताल बैतडीमा मानसिक रोग विशेषज्ञको दरबन्दी नभएकाले विशेषज्ञ चिकित्सकमार्फत सेवा उपलब्ध गराउन शिविर सञ्चालन गर्न लागिएको अस्पतालका नायब सुब्बा वीरसिंह महराले जानकारी दिए ।
विभिन्न समस्याका कारण टाढा गएर उपचार सेवा लिन नसकेका बिरामीलाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका सम्पूर्ण बिरामीलाई मंसिर ३ गते बिहीबार जिल्ला अस्पताल बैतडीमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ ।