त्रिपुरासुन्दरीमा ठूली जात, दशरथचन्दमा नगरपालिकामा बिदा

बैतडी-बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज कार्तिक शुक्ल नवमीका अवसरमा ‘ठूली जात’ लागिरहेको छ।

हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन लाग्ने जात्राअन्तर्गत हिजो अष्टमीका दिन ‘नानी जात’ सम्पन्न भएको छ भने आज नवमीका दिन मुख्य जात अर्थात् ‘ठूली जात’ लागिरहेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले जानकारी दिए।

ठूली जातका अवसरमा मन्दिरमा राँगा तथा बोकाको बलि दिने परम्परा रहेको छ। आज बिहान मन्दिरबाट भगवतीको सवारी कापडीगाउँमा गराइने कार्यक्रम रहेको छ। उक्त अवसरमा हजारौँ भक्तजनको सहभागिता रहने गर्दछ।

त्रिपुरासुन्दरी भगवतीको दर्शन तथा पूजाआजाका लागि बैतडीसहित देशका विभिन्न स्थान तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुहरू मन्दिर पुगेका छन्।

यसैबीच, जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय तथा शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको जनाएको छ।

जात्रामा सहभागी हुने भक्तजनको सहजताका लागि युवा समाजसेवी एसपी भट्टले निःशुल्क १० वटा गाडीको व्यवस्था गरेका छन्। दशरथचन्द नगरपालिका–४ विनासौं निवासी भट्टले सतबाँझ, देहीमाण्डौँ, गोठलापानी, जोशीबुङ्गा र झुलाघाटबाट त्रिपुरासुन्दरी मन्दिरसम्म आवतजावत गर्न निःशुल्क यातायातको व्यवस्था गरेको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.