बैतडी-समाचारको स्रोत खोज्ने नाममा मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा बैतडीका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ बैतडी शाखाको नेतृत्वमा पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको कालो ब्यानर सहित जिल्ला प्रशासन कार्यालय बैतडीमा उपस्थित भई धर्ना तथा रचनात्मक विरोध कार्यक्रम सञ्चालन गरेका हुन्।
आन्दोलनमा सहभागी पत्रकारहरूले मिडिया हाउसमा हुने अवरोध, मिडियामाथिको धरपकड तथा पत्रकार गिरफ्तारी तत्काल रोक्न माग गरेका छन्। साथै लोककल्याणकारी विज्ञापनको रकम कटौती, श्रमजीवी पत्रकारको निष्कासन र मिडियामाथि भइरहेको आर्थिक नाकाबन्दी विरुद्ध उनीहरूले कडा असन्तुष्टि जनाउँदै सामूहिक गिरफ्तारीको माग समेत अघि सारेका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको रक्षा गर्दै भयरहित र निर्भयतापूर्वक समाचार लेख्न, प्रकाशन तथा प्रसारण गर्न पाउने वातावरण सुनिश्चित गर्न पत्रकारहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडुले सरकारले पत्रकारहरूका जायज मागलाई बेवास्ता गरे आगामी दिनमा थप कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।