बैतडी-नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता सुदूरपश्चिम रोयल्सले उपाधि जितेको खुसी समर्थकसँग साट्न सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा ट्रफी टूर सञ्चालन गर्ने भएको छ ।
रोयल्सले आगामी मंसिर १३ गतेदेखि २० गतेसम्म प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र बजार क्षेत्रमा ट्रफी प्रदर्शन तथा विजय उत्सवका कार्यक्रम आयोजना गर्न लागेको हो ।
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार उपाधिको ट्रफी प्रदेशका नौवटै जिल्लामा पुर्याउन लागिएको बताएका छन् । ट्रफी टूरमार्फत उपाधि जितको खुसी समर्थक, खेलप्रेमी तथा स्थानीय समुदायसँग बाँड्ने टोलीको उद्देश्य रहेको छ ।
ट्रफी टूरको सुरुवात मंसिर १३ गते अछाम र बाजुराबाट हुनेछ । मंसिर १४ गते डोटी र डडेल्धुरा, मंसिर १५ गते बैतडी र मंसिर १६ गते दार्चुलामा कार्यक्रम आयोजना गरिनेछ ।
बैतडीमा मंसिर १५ गते बिहान ८ः३० बजे प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा उपाधिको ट्रफी प्रदर्शन गरिने कार्यक्रम रहेको छ । त्यसपछि बिहान ९ः३० देखि ११ः३० बजेसम्म गोठलापानी बजारमा र्याली आयोजना गरिनेछ । यसले बैतडीका क्रिकेटप्रेमी तथा समर्थकलाई उपाधि जितको खुसी प्रत्यक्ष रूपमा मनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिर र खलंगा बजार, मंसिर १७ गते बझाङको चैनपुर बजार तथा मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन तथा विजय उत्सवका कार्यक्रम सञ्चालन हुनेछन् ।
मंसिर १९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा ट्रफी प्रदर्शन गरिनेछ । कैलालीको टीकापुर पार्कबाट सुरु हुने कार्यक्रम चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्याली आयोजना गरिनेछ ।
ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म चौराहादेखि महोत्सव मैदानसम्म र्याली आयोजना गरिनेछ । साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूरको समापन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
प्रदेशका नौवटै जिल्लामा ट्रफी पुर्याउने अभियानले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै सुदूरपश्चिमका समर्थकलाई ऐतिहासिक उपाधि जितको खुसी एकसाथ मनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।