बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गर्दै आएको ‘अशक्तसँग प्रजिअ’ अभियानमार्फत थप चार जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई नागरिकता प्रदान गरिएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सम्बन्धित स्थानमा पुगेर वडा कार्यालयहरूसँगको समन्वयमा नागरिकता वितरण गर्नुभएको हो।
प्रमुख जिल्ला अधिकारी अर्यालले पाटन नगरपालिका–३, गुजरकी ९१ वर्षीया धिङडी भट्टलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो।
यसैगरी, अन्य दुई जनालाई पाटन नगरपालिकामा पुगेर तथा एक जनालाई वडा नं. ३ को कार्यालयमा पुगेर नागरिकता प्रदान गरिएको छ। आज मात्रै चार जना नागरिकता प्राप्त गरेका छन्।
‘असक्तसँग प्रजिअ’ अभियानअन्तर्गत हालसम्म १५ जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै, घरनजिकै तथा वडा कार्यालयमा पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताईन् ।
अशक्तता तथा अपाङ्गता भएका नागरिकलाई नागरिकता प्राप्त गर्न सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानले नागरिकलाई राज्यको सेवा घरदैलोमै पुर्याउने प्रयास गरेको छ।