बैतडी–बैतडीको मेलौली नगरपालिका–९ स्थित विशालपुर स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका रूपमा प्रमाणीकरण भएको छ ।
किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक न्यूनतम मापदण्ड तथा सूचक पूरा गरेपछि बिहीबार एक कार्यक्रमका बीच स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका रूपमा प्रमाणीकरण गरिएको हो ।
आवश्यक मापदण्ड पूरा गरेकाले विशालपुर स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाणपत्र प्रदान गरिएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले जानकारी दिए ।
नेपाल सरकारले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेकाले स्वास्थ्यचौकीमार्फत किशोरकिशोरी लक्षित स्वास्थ्य सेवा सञ्चालन गरिएको नगरप्रमुख चन्दले बताए ।
मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष लोक राज भट्टले विशालपुर स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका रूपमा प्रमाणीकरण हुनु वडाका लागि गौरवको विषय भएको बताए ।उनले किशोरकिशोरीको स्वास्थ्य, सरसफाइ, पोषण तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सेवा सहज, सुरक्षित र मैत्रीपूर्ण वातावरणमा उपलब्ध गराउन स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा वर्तमान समयको आवश्यकता भएकाले स्थानीय तहले पनि आफ्ना स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन पहल गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिष भट्टले बताए ।
त्यस्तै, स्वास्थ्य कार्यालय बैतडीका तथ्याङ्क अधिकृत खगेन्द्र कार्कीले किशोरकिशोरीको उमेर, अवस्था र आवश्यकताअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउनु महत्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा विस्तार र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।
विशालपुर स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका रूपमा प्रमाणीकरण हुनु सकारात्मक उपलब्धि भएको पिसविन नेपालका कार्यक्रम संयोजक कृष्ण भट्टले बताए । उनले जिल्लाका अन्य स्वास्थ्य संस्थालाई पनि किशोरकिशोरीमैत्री बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
विशालपुर स्वास्थ्यचौकीबाट किशोरकिशोरीका लागि आवश्यक स्वास्थ्य सेवाहरू प्रदान हुँदै आएको र आगामी दिनमा ती सेवालाई थप प्रभावकारी बनाउँदै लगिने स्वास्थ्यचौकीका प्रमुख नवराजसिंह नायकले बताए ।
किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाले किशोरकिशोरीको उमेर, अवस्था र आवश्यकताअनुसार स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।