सुर्नयामा १६ भूमिहीन दलित तथा सुकुम्बासीको नामावली सार्वजनिक, दाबी–विरोधका लागि सात दिनको समय

बैतडी-जिल्ला भूमि समस्या समाधान समिति बैतडीले सुर्नया गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीको प्रारम्भिक नामावली सार्वजनिक गर्दै सात दिने सूचना जारी गरेको छ।

जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव इ बिनोदप्रसाद भट्टका अनुसार सुर्नया गाउँ कार्यपालिकाबाट प्रमाणीकरण भई सिफारिस गरिएका कुल १७ वटा निवेदन भूमि प्रशासन कार्यालयमा रहेको अभिलेखसँग भिडान गर्दा १६ जना निवेदकको तीन पुस्ताभित्र कतै पनि जग्गा जमिन नभेटिएको पाइएको छ।

एक जना निवेदकको नाममा भने जग्गा रहेको अभिलेख भेटिएपछि जिल्ला समितिले उक्त निवेदन अस्वीकृत गर्ने निर्णय गरेको छ।

समितिले सार्वजनिक गरेको सूचनामा नामावलीमा कुनै संशोधन गर्नुपर्ने भएमा वा सम्बन्धित निवेदकका विषयमा कसैको दाबी–विरोध भएमा सात दिनभित्र आवश्यक प्रमाण सहित उजुरी दिन सकिने जनाएको छ।

सात दिने सूचना तथा दाबी–विरोधको प्रक्रिया पूरा भएपछि योग्य भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने सदस्य सचिव भट्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.