बैतडी-बैतडीको मेलौली नगरपालिकामा एआई एक्सरे ((AI X-ray) प्रविधिमार्फत क्षयरोग(टीबी)पहिचान तथा उपचार शिविर सञ्चालन हुने भएको छ ।
मेलौली नगरपालिकाको आयोजनामा आगामी मंसिर १७ र १८ गते दुई स्थानमा शिविर सञ्चालन गरिने भएको हो । शिविरमा आधुनिक एआई एक्स–रे मेसिनको प्रयोग गरी चिकित्सकमार्फत क्षयरोगका सम्भावित बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भोज बहादुर चन्दले बताए ।
मंसिर १७ गते वडा नं ७ स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र मंसिर १८ गते वडा नं २ स्थित सलेना स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने चन्दले बताए । दुवै दिन बिहान १० बजेदेखि सेवा सुरु हुने जनाइएको छ ।
लामो समयदेखि खोकी लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्ने, खान मन नलाग्ने, राति पसिना आउने, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई शिविरमा आएर स्वास्थ्य परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको छ ।
त्यसैगरी क्षयरोगका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति, एचआईभी संक्रमित, कुपोषित तथा मधुमेह भएका व्यक्तिलाई समेत शिविरबाट स्वास्थ्य परीक्षण गराई लाभ लिन अनुरोध गरिएको छ ।
शिविरबाट क्षयरोगको समयमै पहिचान तथा उपचारमा सहयोग पुग्ने भएकाले लक्षित सबै नागरिकलाई सेवा लिन आग्रह गरिएको छ ।
