नेपाली धराधामका एक सुन्दर प्रतिभाको नाम हो अलि मियाँ। जीवनभर नेपाली मौलिकतालाई फलाउने फूलाउने काममा नै उहाँको अधिकांश जीवन बित्यो। वि.सं १९७५ फागुन १५ गते पोखराको मियाँपाटनमा माता जहुरा नियाँ र पिता दीनमोहमद मियाँका ३ छोराहरु मध्ये कान्छो छोराको रुपमा जन्मिएका थिए। अठार महिनाको कलिलो उमेरमा आमा र तीन वर्षको हुँदा पिता गुमाएका लोककविका जीवनमा सयौँ उतार चढावहरु आए। मातापिताको वात्सल्य प्रेमबाट बन्चित भएर दाजुभाउजूको संरक्षणमा हुर्केका अलि मियाँ बाचपनमा थुप्रै उकाली ओराली, घाँस दाउरा, वनपाखा धाउँथे। यसरी घाँस दाउरा जाँदा मीठो भाकामा लोकगित गाउने गर्दथे।
हिजो आज किन हो किन,
लाग्छ मलाई वन पनि रमाईलो
घरबारेलाई घरमै जाम जाम,
वैरागीलाई वनैमा बसिराम।
यसरी उहाँ प्रकृसँग रमाउँदै असंख्य लोकगीत गाएर रमाउने गर्दथे र प्रकृति नै उहाँको साक्षातकार गुरु थिए। हुन त प्रकृतिबाट नै धेरै कुरा नसिकेने त होइन। महान वैज्ञानिक चार्स डार्विन, महान कलाकार लियोनार्दो दा भिन्ची लगाएतका थुप्रै दार्शनिक, कलाकारहरुले पनि प्रकृतिको सानिध्यमा रहेर धेरै कुरा सिकेका उदाहरण छन।
कुनै जमनाको चर्चित गीत रेडियोमा बज्थ्यो र श्रोताहरुलाई खुबै मन पर्थ्यो त्यो उहाँको गीत थियो
घर पनि छैन दाइ मेरो
डर पनि लाग्दैन कसैको ।
यी र यस्तै मौलिक लोकभाकामा उहाँले थुप्रै गीतको रचना गरि नेपाली गीत संगीतको क्षेत्रमा ठूलो गुन लगाएको जग जाहेर नै छ। नेपाली, हिन्दी, उर्दु लगाएतका भाषा उहाँको राम्रो दक्खल थियो ।तत्कालीन समाजका विकृती, विसङ्गती, शोषण, दमनको विरुद्धमा उहाँले कलम चलाए। गीत र कविता विधामा रुचि राख्ने अलि मियाँ का कवि लहरी (२००९), लोकसङ्गीतको संग्रह पुकार (२०१०), पहाडको उद्गार (२०१३) लगाएत थुप्रै पुस्तकहरु प्रकाशन गरेर नेपाली लोक साहित्यको क्षेत्रलाई ठूलो गुन लगाएका छन । कला र गलाका धनी अलि मियाँले लोकलयका गीत रचना गरेका छन।
घर त मेरो लथालिङ्ग पानी मात्र छाउँछु,
बर्खा खान पर्ने छैन , बाली मात्रै लाउँछु।
रुन्छन मुसा केही छैन आँटीमा
बित्यो जीवन अँधेरी पाटीमा ।
त्यो मायाले जाउँ लाहुर भन्थ्यो
दुस्ख पाउने करिम के मान्थ्यो?
नेपाली साहित्यप्रेमी अलि मियाँले जीवनमा थुप्रै हण्टर, ठक्कर, पीडा र अभावको सामना गर्नु पर्यो। तथापी नेपाली साहित्यकाप्रती ठूलोगुन लगाएका छन।
नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुगाए बाफत उहाँलाई जगदम्बाश्री पुरस्कार (२०६०), नारायणगोपाल सम्मान (२०५७), इन्द्रराज्यलक्ष्मी पुरस्कर (२०४७) लागएको सम्मान उहाँले पाएका छन। यस्ता महान लोककवि अलि मियाँ आजकै दिन अर्थात २०६३ साउन १८ गते नेपाली मनबाट सदाकालागि विदा भएर गए। उहाँको भौतिक उपस्थिति नभएता पनि नेपाली लोकसाहित्य र लोकगीतको क्षेत्रमा दिएको योगदानले उहाँ सदा अमर हुन हुन्छ। उहाँको स्मृति दिवसमा उहाँप्रति हार्दिक नमन।
देवेन्द्र दत्त भट्ट
मेलौली नगरपालिका वडा नं-७ काँणा मेलौली, बैतडी