संसार एक महान नाट्यशाला हो। सर्वशक्ति सम्पन्न सत्यजीवि परब्रह्म सुत्रधार रहेको यस महाननाट्यशालाका पात्रहरु मरणधर्मी जीव हुन। अति नै छोटो मानव चोलालाई सार्थक बनाउन सचेत व्यक्क्तिहरु निरन्तर लागि नै रहेका हुन्छन। साहित्यिक, सामाजिक, राजनीतिक, वा अन्य कुनै क्षेत्रको माध्यमबाट समाजको चेतनालाई समृद्धी र सत्यको मार्गतिर निश्वार्थ अभिप्रेरित गर्ने व्यक्तिहरुका विचारले नयाँ सोच, सभ्यता र समृद्ध समाज निर्माणमा योगदान पुगेको हुन्छ। नेपालमा वैदिककालदेखि आजसम्म विभिन्न साहित्यकारहरुले आफ्नो कलममार्फत समाजलाई सहि पथप्रदर्शन गरेको पाइन्छ ।
नेपाली साहित्य आकाशका चम्किला तारा महाकविलाई आज देश तथा विदेशमा स्मरण गरि रहेका छौँ। विलक्षण प्रतिभाका धनी महाकवि देवकोटाले आफ्ना अमरकृति मार्फत नेपाली समाजलाई रुपान्त्रण गर्न अनवरत प्रयत्न गरे। काठमाण्डौंको डिल्लीबजार स्थित धोबीधारामा वि:सं १९६६ कार्तिक २७ गते जन्मेका महाकवी देवकोटाले विए र विएल गर्नुभयो साथै नेपाली साहित्यमा एम ए सम्मको अध्यन गरेका थिए। उहाँले दस वर्ष कै कलिलो उमेरबाट नै कविता रचना गर्न थाले। पच्चिस वर्षको उमेर अर्थात वि सं १९९१ मा पूर्णिमाको जलधि र गरिव ू कविता प्रकाशन गरे। वि सं १९९२ मा उहाँको खुबै चर्चा भयो साहित्यिक क्षेत्रमा। उहाँको सुप्रसिद्ध एवम लोकपृय खण्डकाव्य मुनामदनले प्रसिद्धि कमायो। त्यो बेलासम्म नेपाली साहित्यमा परिष्कारवादी धाराको एकछत्र राज थियो जसलाई नेपालका प्रसिद्ध साहित्यकार कविशिरोमणी लेखनाथ पौड्यालले हुर्काएका थिए। पछि महाकवी देवकोटाका कविताले स्वचन्दावादलाई आमन्त्रण गर्यो।उहाँले आधुनिक नेपाली कविताको दोश्रो चरणमा स्वच्छन्दावादी धाराको प्रवर्तक र संवर्धक गरि आधुनिक नेपाली कविताको स्वच्छन्दवादी धाराको पच्चीसवर्षे युगको नेतृत्व गर्नुभयो।
१९९१ सालदेखि २०१६ सालसम्मको अढाई दशकका अवधिमा कविता क्षेत्रमा देवकोटाले छ सयजति फुटकर कविताका साथै मुनामदन, लुनी, कुन्जनी जस्ता डेडदर्जन खण्डकाव्य र शाकुन्तल, सुलोचना, महाराणाप्रताप लगाएत आधा दर्जन महाकाव्यको रचना गरे। उहाँ नेपाली साहित्यका सर्वोकृष्ट कविका रुपमा चिनिन्छन। अनेकौँ महाकाव्य रचना गरेकाले उहाँ महाकविको रुपमा सम्मानित भए।
आफ्ना हृदयमा छङ्छङाएका भावनाहरुकाई सहज ढंगले अभिव्यक्त गर्ने स्वच्छदवादी कवि देवकोटाका कवितामा भावको विविधता पाइन्छ र नौओटै रसमा कवितालाई खेलाएका छन। खास गरि करुण, श्रीङ्गार , हास्य , वीर , शान्त आदि रसमा उहसँ विशेष सफल मानिन्छन।
विश्व साहित्य क्षेत्रमा साहित्यकारहरुले समाजको चेतनालाई मार्गदर्शन गरेको पाइन्छ। ग्रीसका होमर, इटलीका दाँते, इङ्लेण्डका विलियम शेक्सपियर, फ्रान्सका मोलिएर, भारतका वल्मिकी, रबिन्द्रनाथ ठाकुर लागाएतका विश्व चर्चित साहित्यकारहरुलाई नसम्झने कोही छैन्न। आदिकवि भानुभक्त आचार्य ,युवाकवि मोतीरामा भट्ट, कविशिरोमणी लेखनाथ पौड्याल, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, सिद्धिचरण श्रेष्ठ, भूपी शेरचन लगाएतका साहित्यकारलाई हामी सधैं स्मरण गरि रहन्छौं।
महाकवि देवकोटाको ईश्वरीय दृष्टिकोण
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो
मानिसहरुको काँध चढी
कुन देवपुरीमा जाने हो
यात्री कविताका यी हरफहरुले महत्वपूर्ण सन्देश दिएको छ। जति बेला नेपालमा प्रजातान्त्रिक व्यवस्थाका खाँतिर अमर सहिदहरुलाई मृत्यु दण्ड दिइयो, त्यति बेला अन्तर्राष्ट्रिय क्षेत्रमा दोश्रो विश्वयुद्ध चलिरहेको थियो। यिनै राष्ट्रिय र अन्तर्राष्ट्रिय पृष्ठभूमिमा महाकवी देवकोटाले यात्री कविताको रचना गर्नुभयो। शिवरात्रीको समयमा कविले पशुपतिनाथमा दर्शन गर्न जाँदा अचम्मका दृश्य देख्नुभयो। मानिसहरुको काँधमा चढेर धर्म कमाउन हिडेका श्रद्धालुभक्तजनलाई नै देखेर यात्री कविताको रचना गर्नुभयो। मन्दिरमा मूर्तिमा मात्र ईश्वर रहने कुराको खण्डन गरि ईश्वर मानव र अन्य प्राणीका आत्मामा रहने कुरा प्रष्ट पार्नुभयो। परम्परागत नेपाली समाजलाई धर्म र ईश्वर सम्बन्धि नवीन चिन्तन र नयाँ मान्यता स्थापित गर्न सफल हुनुभयो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएका रहेक कृति हाम्रा अमूल्य नीधिहुन। ती कृतिहरुको अध्यन हाम्रालागि अति नै महत्वपूर्ण छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मनु भएको यस पावन दिनमा उहाँप्रति हार्दिक नमन।
देबेन्द्र दत्त भट्ट
अध्यक्ष
नेपाली लेखक सङ्ग, बैतडी