बैतडी-दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा चौलानी नदी थुनिने पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ।
पहिरोपछि नदी केहीबेर थुनिएको र अहिले खुलेको बताइएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।‘१० परिवारलाई आफन्तको घरमा सारिएको छ, केहि आवश्यक टेण्टलगायतका सामाग्री उपलब्ध गराइएको छ’ अध्यक्ष बोहराले भने ।
उनका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ । पहिरो झरिरहेकाले बस्ती जोखिममा रहेको समेत अध्यक्ष बोहराले बताए ।
पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए । नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै नदीमा बाढीको जोखिम रहेकोले सतर्क रहन र तटीय क्षेत्रमा नजान भनेको छ।