पञ्चेश्वर गाउँपालिकाद्वारा महाकाली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

बैतडी– दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भण्डारस्थित चौलानी नदीमा निरन्तर पहिरो खस्दा नदी थुनिने जोखिम बढेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सूचनाका आधारमा पञ्चेश्वर गाउँपालिकाले चौलानी नदीमा माथिबाट निरन्तर पहिरो खसिरहेका कारण नदी आधा थुनिएको जनाएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले नदी जुनसुकै समयमा पूर्णरुपमा थुनिएर ताल बन्ने र अचानक फुट्न सक्ने उच्च जोखिम रहेको गाउँपालिकाले जनाएको छ।

चौलानी नदी थुनिएर फुटेमा त्यसबाट आउने बाढीका कारण चौलानी नदी तटीय क्षेत्रका साथै उक्त नदी मिसिने महाकाली नदीको जलस्तरसमेत अचानक बढ्न सक्ने जनाइएको छ। यसबाट ठूलो जनधनको क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले गाउँपालिकाभित्र पर्ने महाकाली नदी किनार तथा आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने आम नागरिक, किसान तथा सर्वसाधारणलाई सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएकोछ।

गाउँपालिकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन तथा सम्भावित बाढीबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

साथै, आपत्कालीन अवस्था आएमा स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन गाउँपालिकाले आग्रह गरेको छ। सूचनामा बाढी तथा विपद्स म्बन्धी जानकारीका लागि सम्बन्धित निकायका सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.