काठमाण्डौ-दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी ९चमेलिया० नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले दिएको जानकारीअनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ । तर थप पहिरो खसेमा नदी पुरै थुनिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उनको आग्रह छ ।
अहिले आत्तिन नपर्ने, तर सावधानी भने अपनाउनुपर्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।
चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।