बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–१ पालडी स्थित नागार्जुन आधारभूत विद्यालय प्रजापति (पी.पी) प्रसाईं प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएको छ।
सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउँदै शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तनका लागि योगदान पु¥याएको भन्दै पीपी प्रसाईं फाउन्डेसनले विद्यालयलाई रु एक लाख नगद, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरेको फाउन्डेसनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक सुरेश सार्कीका अनुसार पछिल्ला वर्षमा विद्यालयले शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, अनुशासन तथा सरसफाइलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा शिक्षक, अभिभावक र व्यवस्थापन समितिको सक्रियताले विद्यार्थीको संख्या समेत बढ्दै गएको छ।
शैक्षिक सत्र २०८३ मा विद्यालयमा बालविकास देखि कक्षा ५ सम्म १६४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालय पछिल्ला पाँच वर्षदेखि वडा तहको मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएको तथा तीन वर्षदेखि गाउँपालिका तहमा समेत उत्कृष्ट विद्यालयका रूपमा सम्मानित हुँदै आएको विद्यालयका प्रधानाध्यापक सुरेश सार्कीले बताए ।
विद्यालयले आगामी दिनमा सूचना प्रविधिको प्रयोग बढाउने, कक्षा ६ देखि ८ सम्म अध्यापन विस्तार गर्ने तथा विद्यालयलाई बालमैत्री, वातावरणमैत्री र प्रविधिमैत्री नमुना विद्यालयका रूपमा विकास गर्ने योजना अघि सारेको प्रधानाध्यापक सार्कीले बताए ।
फाउन्डेसनका अनुसार सामुदायिक विद्यालयमा कार्यरत देशभरका उत्कृष्ट छ जना शिक्षकलाई समेत पुरस्कृत गरिएको छ।