बैतडी-बैतडीका मुक्तकार कर्ण दयाल सोराडीको मुक्तक सङ्ग्रह ‘उथलपुथल’ ले यस वर्षको ‘वरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेल स्रष्टा सम्मान २०८२’ प्राप्त गरेको छ।
नेपाली साहित्यमा मुक्तक विधाको विकास र प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका सोराडीलाई हामी र हाम्रो कृति समाज, काठमाडौँले शनिबार आयोजित विशेष समारोहबीच सम्मान गरेको हो।
मेलौली नगरपालिका–७, तोल्या निवासी सोराडीको ‘उथलपुथल’ मुक्तक सङ्ग्रहका लागि उहाँलाई सम्मान पत्रसहित रु। ११ हजार १११ नगद प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेल र समाजका अध्यक्ष मदन नेपालले सोराडीलाई सम्मान गर्नुभएको थियो। काम विशेषले उहाँ बैतडीमै रहनुभएकाले उहाँकी धर्मपत्नी सीता दयालले सम्मान ग्रहण गर्नुभएको थियो।
नेपाली मुक्तक साहित्यको विकास र प्रवर्द्धनमा सोराडीले पुर्याएको निरन्तर योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको समाजका सचिव बद्री उप्रेतीले जानकारी दिनुभयो।
सम्मान प्रदान गर्दै समाजले सोराडीको सुस्वास्थ्य, दीर्घजीवन तथा साहित्यिक यात्राको सफलताको कामना गर्दै आगामी दिनमा पनि नेपाली साहित्यको श्रीवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।