नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं-एसिसी प्रिमियर कप २०२६ को समूह ए विजेता बन्न नेपाली राष्ट्रिय क्रिकेट टिमले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ। हङकङविरुद्ध नेपाल जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ।

समूहमा नेपाल लगातार ३ खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट तथा तेस्रो खेलमा साउदी अरेबियालाई ५ ले हराएको थियो।

समूहमै आयोजक मलेसिया र हङकङको समान ४ अंक छ। मलेसिया रनरेटमा बलियो रहँदै दोस्रो स्थानमा छ। समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङलाई जित्नै पर्ने दबाब छ। हङकङलाई नेपालविरुद्ध जितको विकल्प छैन। हारले मलेसिया सेमिफाइनलमा पुग्नेछ।

त्यस्तै, सेमिफाइनल पुगिसकेका युएई र ओमानबीच समूह ‘बी’ को विजेता बन्न प्रतिस्पर्धा हुँदैछ। यसअघि नै ६ अंकसहित युएई अर्को चरणमा प्रवेश गरिसकेको छ। समान चार अंक भएपनि ओमानले कतार कुवेतलाई रन रेटमा पछि पार्दै सेमिफाइनल पुगेको हो।

प्रतियोगितामा १० टिम सहभागी छन्। समूह चरणका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता विजेता टिम बंगलादेशमा अर्को वर्ष हुने एसिया कपमा छनोट हुनेछ।

Leave A Reply

Your email address will not be published.